समाचार

प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘संसद्मा प्रश्नोत्तर र प्रभावकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले यसमा थप अनुभवको खाँचो रहेको औँल्याए । सभामुख महराले संयुक्त अधिराज्य जस्ता संसदीय प्रणालीमा अभ्यस्त मुलुकका अनुभव नेपालका लागि महत्वपूर्ण हुने अपेक्षा गर्दै त्यसलाई नेपालको मौलिकतासँग परिमार्जन गरेर लागू गर्न सहज हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा सांसद रेखा शर्माले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र सरकारका भनाइ आमजनतासमक्ष प्रभावकारीरूपमा पु¥याउन संसद्मा प्रश्नोत्तर कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिए । सङ्घीय सचिवालयका सचिव ध्रुव घिमिरेले संसद्मा व्यवस्था गरिएको प्रश्नोत्तर कार्यक्रमको उद्देश्य, प्रक्रिया र कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

संयुक्त अधिराज्यको हाउस अफ कमन्सका पूर्वक्लर्क अलिस्टेयर डोहेर्टीले बेलायतको संसद्मा हुने प्रश्नोत्तर कार्यक्रमका बारेमा दृश्य सामग्रीसहित प्रस्तुति दिएका थिए । समाजका अध्यक्ष नारायण काफ्लेले अन्तरक्रिया कार्यक्रमबाट संसद्मा हुने प्रश्नोत्तर कार्यक्रमलाई सञ्चारकर्मीले बुझ्न र समाचार लेख्न सहयोग पुग्ने बताए। कार्यक्रममा सांसद र सञ्चारकर्मीले बेलायती संसद्मा हुने प्रश्नोत्तर कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । बेलायतमा सन् १९६१ देखि प्रधानमन्त्री र मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम शुरु भएको हो ।