कर्णाली प्रदेश

जुम्लामा पछिल्लो समय घरेलु हिंसा बढ्दै

खलङ्गा । जुम्लामा पछिल्लो समय घरेलु हिंसा बढ्दै गएको छ । समाजमा पुरुषले मदिरा सेवन गरी महिलामाथि यातना दिन थालेपछि न्याय माग्दै महिलाहरू जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्ने गरेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४५ घरेलु हिंसाका निवेदन दर्ता भएको केन्द्रले जनाएको छ । केन्द्रमा परेको उजुरीमध्ये ३७ को मिलापत्र भएको र छ वटा अदालती प्रक्रियामा रहेको प्रहरी हवल्दार विमला कुँवरले बताए ।

दुई निवेदनका व्यक्ति सम्पर्कमा नआएको उनको भनाइ छ । गालीगलौज र कुटपिट गरेका उजुरी बढी आउने गरेको कुँवरको भनाइ छ । घरेलु हिंसाबाट चालु आर्थिक वर्षको हालसम्म ४५ महिला पीडित भएका छन् । प्रहरी हवल्दार कुँवरका अनुसार अपराधको सूचना प्रहरीमा आउनेक्रम बढेसँगै समुदायमा कानूनको पहुँच बढेको बताए । विसं २०६६ मा जारी भएको घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ । ऐनले अपराध प्रमाणित भएमा रु तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना वा छ महीनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । चालु आवमा सामाजिक हिंसाको ३८ र जबर्जस्ती करणीको सात उजुरुप्रिहरीमा दर्ता भएको कुँवरको भनाइ छ ।

बलात्कारलगायतका घटना बढिरहँदा इन्टरनेटका यौनजन्य अश्लील सामग्रीमाथि प्रतिबन्ध लगाउनुपर्ने उनले बताए। महिला हिंसाका घटना बढ्नुमा त्यस्ता सामग्रीमाथिको सहज पहुँच कारक रहेको ठहर गर्दै उनले इन्टरनेटका माध्यमबाट अपराधका नयाँनयाँ रूप भित्रिएको बताए । दण्डहीनताका कारण अपराधलाई सामान्यरूपमा स्वीकार्न समाज अभ्यस्त बन्दै गएको अधिवक्ता देवेन्द्रराज शर्माको टिप्पणी छ । उनका अनुसार अपराधीले सफाइ पाएका एकरदुई उदाहरणले पनि आपराधिक मनोवृत्तिलाई मलजल गरिरहेको छ । प्रहरीका अनुसार मदिराका कारण घरेलु हिंसा बढी देखिएको छ । मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न नसक्दा समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालयसम्म आउने अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमै टुङ्गिने गरेका छन् ।