खेलकुद

नेपाल–पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । फैसलावादस्थित एकवाल मैदान वर्षाका कारण खेल्न लायक छैन ।

अम्पायर र म्याच रेफ्रीले स्थानीय समयानुसार साढे ११ बजे स्टेडियमको निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय भएको त्यहाँबाट पत्रकार गोविन्दराज नेपालले जानकारी दिए । आज पाकिस्तानका अन्य शहरमा पनि निरन्तर वर्षा भइरहेको छ । यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । तेस्रो खेल फैसलावादमै शुक्रबार हुनेछ ।

त्यसपछि नेपाली टोली शनिबार इस्लामावाद जानेछ । इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचौँ खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो । भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् ।