पु.समाचार

पश्चिमी वायुका कारण आज देशका अधिकांश स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मङ्गलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागे पनि अपराह्नपछि मौसम बदलियो । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ । अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। “गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ । यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा सुधार आउँछ । आगामी शनिबारदेखि आंशिक बदली रहे पनि मौसममा राम्रै सुधार हुने देखिन्छ”, उनले भने ।

मौसमविद् अर्यालका अनुसार अहिले जे जति मौसमी प्रणाली देखापर्छन् ती पश्चिमबाटै हुन्छन् । विशेष अवस्थाबाहेक पश्चिमी वायुले नै हिउँदे वर्षा गराउँछ । जाडो याम (विन्टर सिजन)को अन्तिम चरण रहेकाले पनि मौसमी गतिविधि हेरफेर भइरहन्छ । अझै एक महीना पश्चिमी वायुको गतिविधि देखापर्ने मौसमविद्को भनाइ छ । ‘डिसेम्बर, जनवरी र फेब्रुअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’ लाई प्रिःमनसुन अवधि मानिन्छ । त्यसपछि वर्षायाम अर्थात् मनसुनी (दक्षिण पूर्वी हावाले गराउने) मौसमी प्रणाली अवधिमा अत्यधिक वर्षा हुन्छ । खासगरीः प्रिःमनसुनका बेला अपराह्नपछि या साँझतिर मेघ गर्जनसहित वर्षा हुने र हुरीबतास चल्ने गर्छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली भई पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वाका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना औँल्याएको छ ।

राति देशका पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भेगमा हिमपात हुनेछ । शुक्रबार देशको पूर्वी क्षेत्र तथा पहाडी भेगमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेग र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातमा पनि पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ ।

शनिबार देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली भएका कारण बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३।२ र अधिकतम तापक्रम १८।५ डिग्री सेल्सियस छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम घटेर १ डिग्रीमा झरेको थियो । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ र अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २५ तथा सिमरा र नेपालगञ्जको समान २३ डिग्री सेल्सियस छ ।