स्वास्थ्य

अस्पतालमा चिकित्सक अभाव

अमरगढी । डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन् ।

अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदा तथा काज सरुवामा जाने भएकाले उपचारमा झनै समस्या हुने गरको सेवाग्राहीको गुनासो छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य सात जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल, नेपालगञ्ज तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि जान बाध्य छन् ।

हाल अस्पतालमा स्त्रीरोग हेर्ने गरी मेडिकल अफिसरको दरबन्दीमा एकजना डाक्टरले काम गरिरहेका छन् । मेडिकल अफिसरकै दरबन्दीमा आफँै काम गरिरहेको विशेषज्ञ डाक्टरका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि डाक्टर नपठाइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा जीतेन्द्र कँडेलले बताए । विशेषज्ञ नहुँदा क्षेत्रीय अस्पतालमा उपचार गर्नै समस्या हुने गरेको उनले बताए । अस्पतालमा मेडिकल अफिसर पदमा १८ को दरबन्दी छ । हाल ११ कार्यरत छन । छ अध्ययन बिदामा रहेको मेडिकल सुपेरिटेन्डेन डा कँडेलले बताए ।