आर्थिक

कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने छ- अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गरेका छन्। नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उनले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताए । उनले कृषिजन्य पदार्थमा पाँच प्रतिशतभन्दा बढी भन्सार कर लगाउन सक्ने अवस्था नरहेको स्पष्ट पारे।

अर्थमन्त्री डा खतिवडाले आगामी पाँच वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको नीति रहेको उल्लेख गर्दै यसका लागि सरकार, सहकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्ने बताए। उनले भने– “कृषि र पशु बीमाका क्षेत्रमा लघु बीमा कम्पनीलाई आकर्षित गर्न सकिएको छैन । ती क्षेत्रमा आउने बीमा कम्पनीलाई सरकारले सहयोग गर्छ । म यसको नेतृत्व लिन नेपाल कृषि सहकारी केन्द्रीय सङ्घलाई आग्रह गर्छु ।” अर्थमन्त्री डा खतिवडाले कृषि उत्पादनको आर्थिक जोखिम घटाउन बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिएका दिपन चेपाङ (मकवानपुर), सवरा खातुन (बारा), पवितादेवी मसहर (धनुषा), मदनसिंह राउटे (डडेलधुरा) दिनेश साह (सिराहा), छविलाल खड्का (सुर्खेत) र सरोज नेपाल (मोरङ) लाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । साथै दीपा राना (सुर्खेत), दीपनारायण पुवे (धनुषा) तथा चिरञ्जीवी भण्डारी(झापा)उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित भएका थिए ।

हाल सङ्घअन्तर्गत ७१ जिल्लामा ९९५ सहकारी संस्था आबद्ध छन् । करीब दशलाख कृषक आबद्ध रहेको ती संस्थामार्फत् कृषि क्षेत्रमा रु ४५ अर्ब पूँजी लगानी रहेको कार्यक्रममा जानकारी दिइयो । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कृषि क्षेत्रमा लगानी बढाउन सरकारसँग माग गरे । सङ्घका अध्यक्ष खेमबहादुर पाठक तथा उपाध्यक्ष मदन दाहालले सङ्घका गतिविधिमाथि प्रकाश पारेका थिए ।