गण्डकी प्रदेश

मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन

फिदिम । फिदिम नगरपालिका– ४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ ।नगरपालिकाले लगाएको ठेक्कामा निर्माण व्यवसायीले तमोर नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन गरेपछि जिल्ला अनुगमन तथा समन्वय समितिले उक्त कार्यमा रोक लगाएको छ । नगरपालिका–४ माझीटारस्थित नदीको किनारामा नदीजन्य पदार्थको उत्खनन गर्ने क्रममा निर्माण व्यवसायीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई पालना नगरेको समितिले जनाएको छ । प्रतिवेदनलाई बेवास्ता गर्दै नदी किनाराबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गरेको पाइएका कारण उक्त कार्यमा रोक लगाइएको जिल्ला अनुगमन तथा समन्वय समिति पाँचथरका सदस्य सचिव इञ्जिनीयर प्रेमबहादुर काफ्लेले जानकारी दिए ।

समितिले उत्खनन कार्यमा रोक लगाउनुका साथै उत्खनन गर्न प्रयोग गरिएका दुई स्काभेटरसमेत नियन्त्रणमा लिएको काफ्लेले जानकारी दिए । नदीजन्य पदार्थको उत्खननमा स्काभेटर प्रयोग गर्न नहुने, पक्की पुलको ५०० मिटर वरपर नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्न नहुने तथा ३५ सेन्टिमिटरभन्दा गहिराइबाट नदीजन्य पदार्थको उत्खनन गर्न नहुने शर्तहरुलाई निर्माण व्यवसायीले पालना नगरेका कारण समितिको पहलमा प्रहरीले स्काभेटर नियन्त्रण लिएको हो ।

नगरपालिकाले नदीको माझीटार क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननको ठेक्का सञ्जीव निर्माण सेवा प्रालि फिदिम–४ लाई दिएको थियो । उक्त निर्माण कम्पनीले नदीजन्य पदार्थको उत्खननका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई आधार मानेर कार्य नगरेको पाइएपछि समितिको मङ्गलबार बसेको बैठकले तत्कालका लागि उक्त स्थानबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । उक्त निर्माण कम्पनीले तमोर नदीको पाँचथर–तेह्रथुम जोड्ने पुलभन्दा तल्लो क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गर्ने क्रममा नदीको धार नै परिवर्तन हुने गरी उत्खनन गरेको पाइएको उनको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ अधिकारी, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला समन्वय समितिका इञ्जिनीयर प्रेमबहादुर काफ्लेलगायतको टोलीले गरेको स्थलगत अवलोकनबाट उक्त निर्माण कम्पनीले मापदण्डविपरीत कार्य गरेको देखिएको समितिले जनाएको छ ।

उक्त कम्पनीले तमोर नदीको मूल भङ्गालो पाँचथरतर्फ मोडिने गरी नदीजन्य पदार्थको उत्खनन गरेका कारण तेह्रथुम जिल्लातर्फ खतरा बढेको प्रजिअ अधिकारीले बताए । यस्तै नदीको सतहसम्मै नदीजन्य पदार्थ उत्खनन गर्नाले पाँचथरतर्फ थप क्षति हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । पैँतीस सेन्टिमिटरसम्म मात्रै उत्खनन गर्न पाइने प्रावधान भए पनि कम्पनीले पाँच मिटरभन्दा बढी गहिराइसम्म नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको इञ्जिनीयर काफ्लेको भनाइ छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिको कार्यक्षेत्रअनुसार नै बैठकले उक्त उत्खनन कार्यलाई मापदण्डअनुसार अघि बढाउन नगरपालिकालाई निर्देशन दिने, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको पालना नहुनुको कारण सोध्ने र निर्देशन पालना नभएसम्म उत्खनन कार्य रोक्ने निर्णय गरेको प्रजिअ अधिकारीले जानकारी दिए । बैठकमा नगरपालिका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकासँगको सम्झौताभन्दा विपरीत उत्खनन कार्य भएको पाइए उत्खनन कार्य रोक्न नगरपालिका तयार रहेको बताएका थिए ।