साहित्य

पत्रकार चौधरी सम्मानित

कोलकाता । साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई मिथिलाको सांस्कृतिक, सामाजिक र साहित्यिक विकासमा पु¥याउनुभएको योगदानको कदरस्वरूप मैथिली प्रतिबद्धता सम्मान प्रदान गरिएको छ । मैथिली अनुरागी हरिशचन्द्र मिश्र ‘मिथिलेन्दु’को स्मृतिमा कामरेड भोगेन्द्र झा मैथिली प्रतिबद्धता सम्मान मिथिला विकास परिषद् कोलकाताद्वारा प्रदान गरिएको हो । परिषदद्वारा कोलकाताको तारा सुन्दरी पार्कमा बुधबार आयोजित मिथिला विभूति महोत्सवमा पूर्व विधायक दिनेश बजाजले साहित्यकार चौधरीलाई सो सम्मानबाट सम्मानित गरे ।

साहित्यकार चौधरी राष्ट्रिय समाचार समिति प्रदेश नं २ जनकपुरधामको प्रमुख छन् । महाकवि विद्यापतिलगायत अन्य विभूतिको स्मृतिमा आयोजित महोत्सवमा परिषद्का अध्यक्ष अशोक झाले सन् १९८३ देखि मिथिलाको आर्थिक, सांस्कृतिक, सामाजिक र साहित्यिक विकासका लागि निरन्तर कार्य गर्दै आएको बताए । महोत्सवमा स्रष्टा एवं अभियानी विधुशरण शास्त्री, लक्ष्मण झा सागर, ताराकान्त झा, पार्षद् विजय ओझा, कलाकार शम्भुनाथ मिश्रले महोत्सवको आयोजनाले साहित्य र संस्कृतिलाई नयाँ ऊर्जा प्रदान गर्ने विचार राखे ।

महोत्सवमा कलाकार चन्द्रमणि, खुश्बु मिश्र, अरविन्दकुमार सिंह, गीता र आशा, मन्टुकुमार झा, देवआरती बन्दोपाध्याय, हिमाद्री मिश्र, सशीता राय, राकेश झा र रोशन झाले मैथिली गीत प्रस्तुत गरेका थिए । सो महोत्सवमा हरनारायण राय, रञ्जित शाव, मोसाफिर मण्डललाई श्रमेव सम्मान र सृष्टिनारायण झा, कामदेव झा, कामेश्वर झालाई समेत मैथिली प्रतिबद्धता सम्मान–२०१९ प्रदान गरिएको थियो ।