कर्णाली प्रदेश

हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीलाई सकस

जुम्ला । हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने बिरामी बढेका हुन् । चिसोले बिरामीलाई निकै सकस भएको छ । चिसो तथा अन्य समस्याका कारण बिरामीको सङ्ख्या बढेपछि प्रतिष्ठानले उपचारमा चासो बढाएको जनाएको छ । प्रतिष्ठान भर्ना भएका चिसो तथा अन्य रोगका बिरामी जुम्ला, मुगु र कालिकोटका बढी छन् । गत हप्तादेखि भइरहेको हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजीवन कष्टकर बन्नाका साथै हवाई उडानसमेत हुनसकेको छैन ।

कालीकोट र मुगुबाट गाडीमा आउने बिरामीलाई निकै सकस भएको छ । प्रतिष्ठानका चिकित्सक सूर्यमान लिम्बूले भने, “अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामी बढिरहेका छन्, चिसोले विशेषगरी बूढाबूढी, बालबालिका र गर्भवती महिला समस्यामा छन् ।” उनका अनुसार प्रतिष्ठानमा आइसीयुसहित भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था भएकाले सिटीस्क्यान गर्नुपर्नेबाहेक अरु बिरामी आएमा अन्यत्र सिफारिश गर्नुपर्ने स्थिति छैन ।

प्रतिष्ठानको आइसीयुमा हाल भीरबाट लडेर गम्भीर घाइते भएका तातोपानी–७ का बालक रोशन कुँवर र ब्रेनस्टोनका बिरामी धनबहादुर रावललाई राखिएको छ भने अन्य सयौँ बिरामी विशेष तथा सामान्य वाडमा उपचाररत छन् । आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ४५ हजार बिरामीले उपचार सेवा लिएका थिए । प्रतिष्ठानको स्तरोन्नोतिसँगै जिल्लाभित्र र बाहिरका बिरामीको चाप बढ्दै गएको रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

उनले भने, “अब चिकित्सक र औषधि नपाएर कर्णालीबासीले मर्नुपर्ने स्थिति छैन, हामीसँग उपकरण र विशेषज्ञ चिकित्सकसहित ४० भन्दा बढी चिकित्सक मात्रै छन् ।” प्रतिठानले आफ्नो सेवा विस्तार र कर्णालीका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कालीकोट, मुगुलगायत कर्णालीका जिल्ला अस्पतालमा गएर उपचार पद्धतिबारे स्वास्थ्यकर्मीलाई आवाश्यक ज्ञान, सीप दिने गरेको डा सूर्यमान लिम्बूले बताए । बिरामी नरेन्द्र सुनारले गत वर्षको तुलनामा यो वर्ष प्रतिष्ठानले न्यानोका लागि आवश्यक कम्मलको व्यवस्था गरेको जानकारी दिए ।