लुम्बिनी

पर्यटन विकासका लागि थारू सङ्ग्राहलय बन्न लागेको छ- कानूनमन्त्री केसी

लमही । शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुगे । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए ।

पहाडी र तराई क्षेत्र समेटिएको सो गाउँपालिकाको प्रत्येक वडाले क्रमअनुसार सोरठी, मयूर नाचदेखि थारू नाच प्रस्तुत गरिरहेका थिए । सोही क्रममा वडा नं ६ को पालो आयो । थारूबाहुल्य क्षेत्र रहेको सो वडाले थारू नाचसंगै मन्त्रीलाई थारू परिकारले पनि स्वागत ग¥यो । त्यो स्वागतका लागि मात्रै स्वागत नभई थारूको पहिचान, वेशभूषा र खानपिनबारे प्रचार गर्न सके दाङलाई थारू पर्यटनका रुपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिन गरिएको थियो । मन्त्री केसीलाई ढकियाका साथै ढिक्री, आलुको अचार, सिद्रा माछा, थारू जाँडसमेत दिइएको थियो ।

कार्यक्रमको अन्ततिर मन्तव्य व्यक्त गरेका मन्त्री केसीले दाङ थारूहरुको बाहुल्य भएको यस जिल्लामा थारू पर्यटन विकासका लागि प्रदेश सरकारले थारू सङ्ग्राहलय बनाउन लागेको बताए ।  थारूहरुको राजाको नामबाट रहेको ‘दङ्गीशरण’मा थारू सङ्ग्राहलय बनाउनका लागि प्रदेश ५ सरकारले रु दुई करोड बजेट छुट्याएको जानकारी दिँदै उनले भने, “ यो गाउँपालिकामा पहाडी तथा तराईका बासिन्दाको बसोबास रहेकाले विविध संस्कृतिमा पनि प्रदेशकै धनी गाउँपालिका बनेकोे छ ।”