विचार/ब्लग

जापानबाट यदुरामको आक्रोसः धुर्मुस/सुन्तलीको जतिपनि ओली सरकारले किन काम गर्न सक्दैन?

यदुराम साप्कोटा/ धुर्मुस र सुन्तलीले चन्दा उठाएर तोकेको समयमा ५/७ ओटा नमुना बस्ती बनाउन सक्छन्, अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सक्छन्, रबि लामिछानेले चन्दा उठाएर रास्कोट अस्पताल बनाउन सक्छन्, एनआरएनहरुले चन्दा उठाएर, बारपाक नमुनावबस्ती बनाउन सक्छन्। देश तथा बिदेशमा रहेका नेपालीहरुले चन्दा उठाएर हजारौँं गरिब नेपाली बिरामी र घाईतेहरुको उपचार गर्न सक्छन्, सयौ बिद्यालय मठमन्दिर मोटरबाटो निर्माण गर्नसक्छन् ? तर हाम्रो देशका नेता मन्त्रीहरु के गर्न सक्छन् ? राज्य के गर्न सक्छ ?

जनतासँग दोहोरो, तेहेरो कर उठाएर जम्मा गरेको पैसाले २ वटा जहाज किन्दा साढे ४ अर्ब घोटला गर्न सक्छन्, एनसेलले तिर्नु पर्ने अरबौं करमा कमिसन खाएर घोटला गर्न सक्छन्, नेपालले आफैं बनाउन सक्ने बुढीगण्डकी जस्ता जलबिधुत आयोजना अरबौं कमिसनको खेलमा बिदेशी कालोसुचीमा रहेको गेजुवा कम्पनीलाई बेच्न सक्छन्, सक्कली बलत्कारी र हत्यारा लुकाएर नक्कली बल्तकारी हत्यारा तयार गर्न सक्छन्, हत्यारा र अपराधीलाई सांसद र मन्त्री बनाउन सक्छन्, अदालतले आजिवन कारावास सुनाएको अपराधी लाई चालचलन ठिक भएको भनेर जेल बाट छुटाउन सक्छन्, सुनलाई तामा बनाएर बिज्ञानलाई नै फेल गर्न सक्छन्, निःशुल्क र गुणस्तरिय शिक्षा र स्वास्थ्य को माग राख्ने सत्याग्रहीलाई मारेर देशलाई माफियाकरण गर्न सक्छन,गोबर ग्याँस उद्घाटन गरेर पाईप लाईनको ग्याँस आयो भन्न सक्छन,समुद्र नभएको देशमा पानिजहाज चलाउने गफ दिएर, डुङ्गालाई पानिजहाज बनाईदिन सक्छन्, गरिब जनता र परदेशमा बेचिएका युवाहरुसँग उठाएको कर को पैसाले करोडौं खर्च गरेर बिदेशमा उपचार गर्न र घुम्न जान सक्छन्, देशभरीका जनप्रतिनिधी बटुलेर धर्म परिवर्तन गराउन होली वाईन पिउन सक्छन्, राष्ट्रपतिलाई डेड अर्बको हेलिप्याड र १८ करोडको गाडी किन्न सक्छन्, अरबौं कमिसन खाएर ठेक्कापट्टा दिन सक्छन्, नेता मन्त्रीले गर्न सक्ने यही हो !

सत्य सबैलाई तितो लाग्छ, कुनै पार्टीको झन्डा बोक्ने झोले कार्यकर्तालाई झन तितो लाग्छ गाली जस्तै लाग्छ तर सत्य नबोले अब देश बन्दैन। हिजो मात्र क्रिकेट स्टेडियम बनाउने भरतपुरको प्रोग्राममा मदनकृष्ण श्रेष्ठले संबोधन गर्दा, उपस्थित सबै भावुक भएछन् । केपी ओलीले संबोधन गर्दा, उपस्थित सबै पेट मिचीमिची हासेछन्। आफैं छुटाउनुहोस्, प्रधानमन्त्रिको कुर्चीमा बस्न लायकको थियो, हास्यकलाकारको लागि उपयुक्तको थियो ? अनि आफैं सोच्नुस नेपाल नबन्नुको कारण के रहेछ ?

धुर्मुस सुन्तली, रबि लामिछाने या कुनै सामाजिक ब्यक्तीहरुले चन्दा उठाएर नमुना काम गर्न सक्छन् तर जनतालाई चुनाब जितेर यो बनाउछौं र उ बनाउछौँ भनेकाहरुले किन ढलेको सिन्को उठाउदैनन्,किन देश बनाउदैनन् ? यथार्थ बुझौं लहैलहैमा लागेर जनताले गलत निर्णय गर्दा देश कहिलै बन्दैन, कमसेकम अब गल्ती नदोहोराउ।

चुनाबको बेला नेकपाले घोषणापत्रमा लेखेका कुरा ५ बर्षमा २० ५ मात्र पुरा गर्यो भने मपनि अर्को चुनाबमा हसीयाहथौडावाला झन्डा समातेर नेकपाको प्रचारमा निस्कने वाचा भो सबै सामु १ तर झुट र गलत कर्तुतलाई गलत नै भनौ, सत्यलाई सत्य भनौँ, देश कसरी बन्छ कसले बनाउछ अबका दिनमा राम्रोसँग चिनौं, ताकी अबको १० बर्ष पछाडी पनि क्रिकेट स्टेडियम या हस्पिटल बनाउन कुनै गरिब बिरामीको उपचार गर्न धुर्मुस, सुन्तली, रबि लामिछाने या अरु कसैले चन्दा उठाउन नपरोस।

सापकोटाले नेकपा नेतृत्वको केपी शर्मा ओली नेतृत्वको सरकारले धुर्मुस सुन्तलीको जति पनि काम गर्न सकेन भन्ने छ ।