प्रदेश 2

जनधनको क्षति गर्न थालेपछि हात्ती धपाउन गस्ती

सप्तरी । हात्ती आतङ्कबाट प्रभावित जनताको सुरक्षाका लागि अग्निसाइर कृष्णा सवरन गाउँपालिका–६ ले अभियान सञ्चालन गर्ने भएको छ ।

वडाका विभिन्न भागमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि वडावासीको सुरक्षाका लागि अभियान सञ्चालन गर्न लागिएको वडाध्यक्ष कुसुम आचार्यले बताए ।

वडाध्यक्ष आचार्यका अनुसार रातको समयमा आउने हात्तीको समूहले जनधनको क्षति गर्दै घर भत्काउने, अन्नबाली खाइदिने, लत्ताकपडा, भाँडाकुँडा नोक्सान गर्ने क्रम बढेपछि सुरक्षाका लागि सुरक्षा समूह बनाएर गस्ती गर्नेलगायतको अभियान थालिएको छ ।

वडा कार्यालयद्वारा महुलीमा बुधबार आयोजित सर्वपक्षीय भेलाले हात्तीको आक्रमणबाट बच्ने विभिन्न उपायका बारेमा छलफल गरेको छ । भेलमा सशस्त्र प्रहरी कार्यालय सीतापुर, इलाका प्रहरी कार्यालय महुली, इलाका वन कार्यालय महुली, हात्तीपीडित समाज महुलीसमेतको सहभागिता रह्यो ।

भेलाले सुरक्षा निकायका प्रतिनिधि, स्थानीय युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, हात्तीपीडितहरु संलग्न रहेको एक सुरक्षा समूह गठन गरेको छ । सुरक्षा समूहले प्रभावित क्षेत्रको नियमित गस्ती गर्ने, हात्ती आउने नाकाको निगरानी गरेर ठाउँठाउँमा आगो बाल्ने, सिठ्ठी बजाउने कार्य गर्नेछ । गाउँमा हात्ती पसेको थाहा पाउनासाथ वडाभरि सबैलाई सूचना दिने र सुरक्षा निकायमा टेलिफोन गर्ने निर्णय भएको छ ।

भेलाले हात्ती, अर्नालगायतका जङ्गली जनावरबाट जनजीवन अत्यन्त प्रभावित भएकाले सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिनेसमेत निर्णय गरिएको स्थानीय बोधराज सुवेदीले बताए ।