समाचार

प्रहरीलाई गलत सूचना दिने राजु र सरिता पक्राउ

काठमाडौँ । आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ ।

गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली कमलामाई नगरपालिका घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा हिले घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

मदिरा पिएर उपत्यकाका विभिन्न स्थानमा घटना घटेको छ भन्दै फोन गरेर गलत सूचना दिएको र उक्त कार्य नगर्न अनुरोध गर्दा प्रहरीलाई नै अश्लिल शब्द प्रयोग गरी हैरानी दिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले आज जानकारी दिए ।