समाचार

वृहत प्रजातान्त्रिक मोर्चा आवश्यक छ- पूर्वसभामुख ढुङ्गाना

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाले वृहत प्रजातान्त्रिक मोर्चा आवश्यक रहेको बताएका छन् । प्रा. डा.भूपति ढकालका ‘सम्पन्न नेपालका सम्पन्नवान नेपाली कसरी बन्ने ’ र ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ नामका दुई कृति विमोचन गर्दै आज उनले लोकतन्त्र प्रवद्र्धनमा देखिएका चुनौतीको सामना गर्न प्रजातान्त्रिक मोर्चाको आवश्यकता औँल्याएका हुन् ।

मुलुकका ऐतिहासिक घट्नाको नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै पूर्वसभामुख ढुङ्गानाले राजनीतिक दलका गतिविधि इतिहासको चर्चासँगै भविष्यमुखी पनि हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुक र पार्टीको समृद्धिका लागि निष्ठावान काङ्ग्रेसको आवश्यकता रहेको बताउँदै सभ्य समाज निर्माण र सदाचारिता कायम राख्न प्रा डा ढकालका दुवै पुस्तक उपयोगी भएको बताए ।

काङ्ग्रेस केन्द्रीय सदस्य एवं सांसद भीमसेनदास प्रधानले पार्टीमा निष्ठावान र अवसरवादी दुई थरीका काङ्ग्रेस भएको उल्लेख गर्दै निष्ठावान काङ्ग्रेसले नै पार्टीलाई जोगाइराखेको धारणा व्यक्त गरे । पार्टीका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले ढकालले दुवै कृतिमा देश र पार्टीका बारेमा चिन्ता व्यक्त गरेको उल्लेख गर्दै मुलुक समृद्ध बनाउन निष्ठावान व्यक्ति थोरै भए पनि पुग्ने बताए ।

नेपाल प्रध्यापक सङ्घका पूर्वअध्यक्ष समेत रहेएका प्रा. डा. ढकालले गत निर्वाचनमा काङ्ग्रेस पार्टीले हार व्यहोरे पनि काङ्ग्रेसको सिद्धान्तले जितेको उल्लेख गर्दै आगामी दिनमा एक ढिक्का भएर अघि बढ्न सुझाव दिए । उनका करीब दुई दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् ।