समाचार

छोरीको हत्या आशङ्कामा पक्राउ

सप्तरी । यहाँ एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुवालाई आज पक्राउ गरेको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ ।

मृतककी आमा समेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृत्तकको शरीरको केही भागमा चोटपटकका दागसमेत देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

तुरन्तलालले हत्या गरेको अस्विकार गरे पनि सामान्य कुटपिट गरेको भने स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुवाले कुटपिट गरेको स्वीकारेका छन् । शव पोष्टमार्टमका लागि मंगलबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।