पर्यटन/संस्कृति

महायज्ञमा बौद्ध धर्मावलम्बीको भीड

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाँकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा बौद्ध धर्मावलम्बीको भीड बढ्न थालेको छ । धार्मिक सहिष्णुताको नमूना प्रस्तुत गर्दै यस क्षेत्रमा हिन्दूका गतिविधिमा बौद्ध र बौद्ध धर्मावलम्बीका सांस्कृतिक समारोहमा हिन्दू धर्मावलम्बीको उपस्थिति हुने गरेको छ । महायज्ञ आयोजक समितिले सप्ताह मण्डप र आसपासको क्षेत्रमा बौद्ध धर्ममा आधारित ध्वजा सजाएका छन् । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा वैदिक मन्त्रोचारणसँगै रोचक ढङ्गले पूर्वीय संस्कृतिमा आधारित कथा वाचन गरिन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको धेरै संस्कार मिल्दाजुल्दा पनि छन् । बौद्ध धर्मावलम्बीले महायज्ञमा कथा श्रवण गर्नुका साथै आर्थिक सहयोगसमेत गरिरहेका छन् । यसले प्राचीन समयदेखि नेपाली समाजमा विद्यमान धार्मिक सहिष्णुताको संस्कारलाई अझ बलियो बनाएको आयोजक समिति मातहतको अतिथि सत्कार उपसमितिका संयोजक राजेश दाहालले बताए ।

दाताबाट हालसम्म रु १० लाख ५२ हजार ९७ सङ्कलन भएको छ । वृद्धवृद्धा तथा अन्य इच्छुक सबैका लागि महायज्ञकै क्रममा समय समयमा सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । गत शुक्रबार वैदिक मन्त्रोच्चारणसँगै महायज्ञ शुरु भएको थियो । राजा मानदेवका पालामा बनेको महाँकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षको निर्माणार्थ महायज्ञ आयोजना गरिएको हो । मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पुजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप बनाउने लक्ष्य पनि लिइएको छ । राजा मानदेवको पालामा महाँकालसहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना भएको थियो ।