समाचार

प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति र उपराष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले विगतमा शहीदले गरेको योगदानको फलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको जनाउँदै नेपालको संविधानबमोजिम पहिलो पटक स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन भई प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेको बताएका छन् । “प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने विश्वास मैले लिएको छु”, सन्देशमा भनिएको छ ।

शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न सम्बद्ध सबैले आआफ्नातर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके शहीदप्रति वास्तविक सम्मान हुने राष्ट्रपतिले विश्वास व्यक्त गरेका छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय शहीदलाई जाने बताएका छन् ।

उनले आज शुभकामना सन्देश दिँदै नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका सन्दर्भमा शहीदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको स्पष्ट गरेका छन् ।