गण्डकी प्रदेश

वितरण गर्ने योजना बिरुवा अभावका कारण अधुरो

बलेवा । बागलुङको बडिगाड गाउँपालिकाले अघि सारेको हिउँदे फलफूल खेती कार्यक्रम प्रभावित भएको छ ।

गाउँपालिकाले छ हजार घरधुरीमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने योजना बिरुवा अभावका कारण अधुरो हुने भएको हो । भूगोलको आधारमा लगाउने भनिएको किबी र ओखरका बिरुवा नपाएका कारण पालिकाले बनाएको योजना अधुरै रहने भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेर पालिकाले रु एक करोड बजेट विनियोजन गरेको थियो ।

किबी र ओखरको बिरुवा खरीदका लागि शीतोष्ण बागवानी केन्द्र दोलखामा पत्राचार गरेको भए पनि बिरुवा लिने समयमा मागअनुसारका बिरुवा नपाएका कारण योजना प्रभावित भएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए । प्रत्येक घरधुरीलाई हिउँदे फलफूल खेतीमा आकर्षित गर्न पालिकाले पाँच÷पाँच ओखर र किबीका बिरुवा वितरण गर्ने योजना बनाएको थियो ।

किबीको बिरुवा खुला बजारमा खरीद गर्दा महँगो पर्ने भएकाले बागवानी केन्द्रमार्फत किन्ने योजना बनाएको भए पनि बागवानी केन्द्रले मागअनुसारका बिरुवा उपलब्ध नगराएका कारण कार्यक्रमनै प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । खुला बजारमा किबीको बिरुवा प्रतिगोटा रु ८०० देखि एक हजार पर्छ भने बागवानी केन्द्रले सोही बिरुवा रु १०० मा किसानलाई उपलब्ध गराउँदै आएको छ ।

सात हजार किबी र सात हजार ओखरका बिरुवा माग गरेको गाउँपालिकाले २७२ वटा किबी र ५०० वटा मात्रै ओखरका बिरुवा पाएको छ । “हामीले बिरुवा उत्पादनका लागि बागवानी केन्द्रलाई आधिकारिक पत्राचार गरेका थियौँं”, सुवेदीले भने, “बिरुवा लगाउने बेलामा लिन जाँदा मागेको जति बिरुवा पाइएन ।” बिरुवा लिन दोलखा पुगेका गाउँपालिका अध्यक्ष पाइजा किबी र ओखरका बिरुवा नपाएका कारण हलुवावेद र अङ्गुरका बिरुवा लिएर गाउँ फर्किएका छन् ।

“योजना अनुसारका बिरुवा नपाएका कारण नयाँ फलफूल खेतीको परीक्षण गर्ने योजना बनाएँ” पाइजाले भने, “सेतो अङ्गुर र हलुवावेदका ५र५ सय बिरुवा परीक्षणको लागि ल्याएको छु ।” यो वर्ष बिरुवाको अभावका कारण कार्यक्रम प्रभावित भएको भएपनि आगामी वर्षसमेत यो कार्यक्रमलाई निरन्तरता दिने पाइजाले बताए । गाउँपालिकाका अनुसार हिउँदे फलफूल खेती प्रवद्र्धनका लागि विनियोजन भएको यो वर्षको बजेटबाट दुई प्रतिशत मात्रै खर्च हुने देखिएको छ ।

“हामी फलफूल खेतीसँगै मौरीपालनलाई प्रोत्साहन गर्ने र किसानलाई उत्पादनमुखी बनाउने योजनामा छौँ”, पाइजाले भने, “वैदेशिक रोजगारीमा जानेलाई गाउँमा टिकाउने गतिलो उपाय हिउँदे फलफूल खेती ठानेर सबैलाई सहभागी बनाउने भनेका हौँ ।” मागे जति बिरुवा नपाएको गाउँपालिकाले यस वर्ष प्राप्त गरेका बिरुवालाई दशवटै वडामा छनोट भएका कृषकलाई मात्रै वितरण गर्ने जनाएको छ ।

वडास्तरबाट छनोट भएर आएका पाँच किसानलाई उत्पे्ररणामूलक तालीम दिने र बिरुवा वितरण गरिने प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले जानकारी दिए । किसानका लागि आवश्यक बिरुवा, तालीम, प्राविधिक सामग्रीलगायतका आवश्यक सबै प्रबन्ध गर्ने भन्दै गाउँपालिकाले ठूलो रकम विनियोजन गरेको थियो । बडिगाडका सबै वडामा किबी र ओखरको राम्रो उत्पादन हुने देखेर पालिकाले मुख्य कार्यक्रमको रूपमा हिउँदे फलफूल खेतीलाई राखेको हो । परीक्षणको रूपमा उत्पादन गरिएको खेती सफल भएपछि व्यावसायिक खेतीको लागि कार्यक्रम बनाइएको हो ।