कर्णाली प्रदेश

हिमपातपछि सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी बढ्यो

हुम्ला । हिमाली जिल्ला हुम्लास्थित राष्ट्रिय तथा सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारी बढ्दै गएको छ ।

जिल्लामा भारी हिमपात पछि उच्च हिमाली भेगमा रहेका वन्यजन्तु बेँसीतिर झर्न थालेका छन् । त्यही मौकामा शिकारीले वन्यजन्तुको शिकार गर्ने गरेका छन् । उच्च क्षेत्रमा बस्ने ओडरसँगै चरिचरन वनमा हिउँले पुरिँदा जङ्गली जनावर मृग, कस्तुरी, घोरल, गुनालगायतका जङ्गली जनावर बेँसी झर्न थालेसँगै शिकारीले शिकार गर्ने गरेको पाइएको छ । उच्च हिमाली भेगमा पाँचदेखि छ फिटसम्म हिउँ जमेका कारण वनजङ्गल सेताम्य हुँदा जङ्गली जनावर बेँसीतिर झर्न थालेका हुन् ।

जंगली चरा चुरुङ्गीको पनि शिकार बढ्न थालेको छ । हिउँमा चरा चुरुङ्गीलाई शिकार गर्न सजिलो भएकाले जाल हाल्ने, चरा चुरुङ्गी चारो खाने ठाउँमा हिउँ पन्छाई पासो थाप्नेजस्ता कार्य गरी मार्ने गरेको पाइएको छ । चरा चुरुङ्गीमा राष्ट्रिय चरा डाँफे, च्याँखुरा, मालुवा अर्थात् जङ्गली पेराव, वन कुखुरालगायतलाई शिकार गर्ने गरेको दक्षिण अदानचुली गाउँपालिकाका कालीबहादुर बताए ।

जिल्लाका चार वटै इलाका वन कार्यालयमा रहेका कर्मचारीलाई वन्यजन्तुको चोरी शिकारीलाई कडारुपमा निगरानी राख्न निर्देशन दिएको जिल्ला वन कार्यालयका रेन्जर लोकजङ शाहीले बताए । वन्यजन्तुको चोरी शिकारी गर्ने जोकोहीलाई पनि वन्यजन्तु ऐनअन्तर्गत कडा कारवाही गरिने प्रतिवद्धता उनले व्यक्त गरे ।

वन्यजन्तुको चोरी शिकारी गर्नेलाई कडाइका साथ निगरानी गर्न जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतका प्रहरी चौकीहरुलाई निर्देशन दिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।

वर्षेनी हिउँदे याममा वन्यजन्तुको चोरी शिकार बढ्नाले कतिपय वन्यजन्तु लोप हुनुका साथै बासस्थान नै अन्यत्र सार्ने गरेको अवस्था रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।