बाग्मती

पेट्रोलियम व्यवसायलाई व्यवस्थित गर्न प्रशासन सकृय

विदुर । सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दरमा पेट्रोलियम पदार्थ बिक्री हुँदै आइरहेकामा अब त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय, नुवाकोटले सक्रियता देखाएको छ । प्रशासनले उपभोक्ता, व्यवसायीलगायत सरोकारवालासँग समन्वय गर्दै मूल्य सन्तुलन कायम राख्नेदेखि उपभोक्ता अधिकार सुरक्षित गर्न उक्त कदम चालेको हो ।

जिल्लामा रहेका पेट्रालियम व्यवसायी आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन तथा अत्यावश्यकीय सेवाका रूपमा सेवा प्रवाह गर्न सहमत भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा व्यवसायीले ग्राहकलाई अत्यावश्यक हुँदा जुनसुकै समयमा पनि पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको पहलमा व्यवसायी, उपभोक्ता र नागरिक समाजका प्रतिनिधिबीचको छलफलमा काठमाडौँभन्दा नुवाकोटमा पेट्रोलियम पदार्थको मूल्य बढी भएको सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा सबै सहमत देखिएका छन् ।

त्यसक्रममा व्यवसायीले निर्धारित दरमै आफूहरूले पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको र यसका बारेमा नियामक निकायको निर्णय पालना गरिरहेको बताएका थिए । छलफलमा व्यवसायीले पेट्रोलियम पदार्थ वितरण प्रक्रियालाई पारदर्शी बनाउने र ग्राहकको गुनासो नआउने अवस्था सिर्जना गर्न प्रतिबद्ध रहने धारणा व्यक्त गरेका थिए । त्यसक्रममा प्रजिअ थापाले उपभोक्ता हित विपरीतका काम हुन नदिनेमा स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउँदै मूल्य समायोजनका सन्दर्भमा सम्बन्धित निकायमा पत्राचार गरी समाधानको पहल गरिने जानकारी गराएका थिए।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, नेपाल नागरिक समाज नुवाकोटका सचिव शिव देवकोटा र पत्रकार महासङ्घ नुवाकोटका सहसचिव जमुना गजुरेलले काठमाडौँमा भन्दा नुवाकोटमा पेट्रोलियम पदार्थको मूल्य बढी हुनुपर्ने कुनै कारण नरहेको बताएका थिए । उनीहरूले पेट्रोलियम पदार्थ वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित नभएको भन्दै स्थानीय प्रशासन र व्यवसायीको ध्यानाकर्षण गराएका थिए।