बाग्मती

कुखुराको दानाको मूल्य उच्च

भरतपुर । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए ।

तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो । मङ्सिरमा रु ७५ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महीनामा रु १५० बढाइएको पुरीले बताए । तीन महीनाको अवधिमा प्रतिबोरा रु ३७५ ले दानाको मूल्य बढेको उनले जानकारी दिए ।

प्रतिकेजी रु १४ मा पाइने मकै तीन महीनाको अवधिमा बढेर रु ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो रु ६५ पुगेको छ । कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतको कच्चापदार्थ आवश्यक हुन्छ । भटमासको पिना शत प्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । मकै, भटमास मात्र वार्षिक रु २५ अर्बको आयात हुने गरेको दाना उद्योग सङ्घले जानकारी दिएको छ ।

ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य बोरा रु १५० बढेर रु तीन हजार १२५ पुगेको छ । यस्तै बिबान दाना रु दुई हजार ८७५ बाट बढेर रु तीन हजार २५ पुगेको छ भने बिटु दाना रु दुई हजार ८२५ बाट बढेर रु दुई हजार ९७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ ।

यस वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको दाना उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए । यस वर्ष भारतमा मकै भटमासको उत्पादन कम भएको र बाहिरी देशमा निर्यात र निर्वाचनका कारण मूल्य बढेको उनले जानकारी दिए । नेपालमा मकै र भटमास पर्याप्त नहुञ्जेलसम्म सरकारले दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको दाना उद्योगीको भनाइ छ । सरकारले दाना उद्योगलाई पाँच प्रतिशत कृषि सुधार शुल्कमध्ये कच्चा सामग्री आयातमा ३।६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले दाना उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा पाँच प्रतिशत कर लिने र तयारी दाना भारतबाट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार शुल्क लिने नीति बनाएका कारण दाना उद्योगी धरासायी बन्ने अवस्थामा रहेको भट्टराईले बताए । नेपालमा दैनिक तीन हजार मेट्रिक टन दाना खपत हुन्छ ।

यसैबीच कुखुरा र अण्डाको मूल्य नपाएका किसान दानाको मूल्यमा भारी वृद्धि भएपछि चिन्तित बनेका छन् । अहिलेको लागत मूल्यअनुसार अण्डाको मूल्य धेरै कम पाएको नवलपुरको दुम्किबासका किसान चूणामणि भुसालले बताए । “अहिले अण्डाको मूल्य प्रतिक्रेट रु २३५ छ”, उनले भने, “लागत मूल्य उठाउन पनि प्रतिक्रेट रु २९० पाउनुपर्छ ।” अझै तीन महीना दानाको मूल्य यस्तै रहिरहे र अण्डाले मूल्य नपाए कुखुरापालन व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुने उनको गुनासो छ ।