प्रदेश 1

महिला घेदुङद्धारा ल्होछारको भव्य स्वागत

धरान । नेपाल तामाङ महिला घेदुङ, सुनसरीले धरानमा सोनाम ल्होछार २८५५ को भव्य स्वागत गरेको छ । महिला घेदुङले हरेक वर्ष झै सांस्कृतिक कार्यक्रम गरी सोनाम ल्होछारको भव्य रुपमा स्वागत गरेको हो ।

कार्यक्रममा विभिन्न गीत र नृत्यका प्रस्तुत गर्नुका साथै लोकप्रिय सेलो गायक रोज मोक्तानले दर्जनौं गीत गाएर दर्शकहरुलाई नचाएका थिए । उनले कलकते काईयो, हेलम्वुको बजारमा, हिऊं पर्यो फुरुरु, झमझम इस्टकोट, रातो रातो गाला, सोल्टीनी लगायतका गीतहरु गाएका थिए ।

सहभागीहरुलाई तामाङ खाद्य परिकार समेत खुवाइएको थियो । नेपाल तामाङ महिला घेदुङ, सुनसरीका अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्रा. समी लामा, नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रिय सदस्य मैतबहादुर तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा, जिल्ला सचिव मंगलसिंह मोक्तान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरीका अध्यक्ष संगिता सुब्बा, पूर्व अध्यक्ष रमला पाख्रिन, युरेका बोर्डिङ स्कुलका डाइरेक्टर सुदिप योल्मो लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा ज्येष्ठ तामाङ महिला र तामाङ समाजमा योगदान पुर्याउनु हुने दुई दर्जन महानुभावहरुलाई दोसल्ला, खदा, सम्मान–पत्र र मायाको चिनोले सम्मान समेत गरिएको थियो ।