पु.समाचार

सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा ग¥यो

काठमाडौँ । सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

उनले भने, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले एउटा नयाँ काम गरेको छ, नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ लाई शहीद घोषणा गरिएकोे छ ।” यो सम्मानले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

छोटो समयमा सशस्त्र प्रहरीले असाधारण रूपले प्रगति गरेकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार क्रियाशील रहेको बताए । “भ्रष्टाचार रोक्न, नेपाल सरकार र सरकारी निकाय सजक छन्, म आफू गर्दिन, गर्न पनि दिन्न, यसमा कसैको अनुहार हेरिँदैन ।” उनले भने । अहिलेको सरकारले राजनीतिक प्रतिशोधका हिसाबले वा कुनै अनुचित हिसाबले भ्रष्टाचारको मुद्दा उठाएको नभई देशलाई भ्रष्टाचारमुक्त गराई विकासका कामलाई अगाडि बढाउने र स्वच्छता तथा पारदर्शी गर्ने कुरालाई ध्यानमा राखेर भ्रष्टाचारको कुरा उठाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गराउँदै उहाँले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताए। उनले विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेजस्ता देशद्रोही क्रियाकलाप हुन नदिने बताए ।

जनताबाट अभिभारा लिएर देशलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने कुरा र सुशासन तथा समृद्धि र विकासका काममा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारे । उनले भने, “यस अवसरमा म सबैलाई आग्रह गर्न चाहन्छु, शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो, देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको छ, बढाउँदै जानुपर्छ ।” विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलोपटक नेपाललाई सम्झेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको विचार, दृष्टिकोण, अबस्था र आकाङ्क्षालाई डाभोसको बैठकमा प्रष्टरुपमा बताइएको उल्लेख गरे । उनले अनुपयुक्त ग्रन्थीमा अल्झिएर समृद्ध देश बनाउने अवसरलाई गुमाउन नहुने र सबै एकजुट र कर्तव्यनिष्ठ हुँदै अगाडि बढनुपर्ने औँल्याए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताए । देश सङ्घीयताको कार्यान्वयनसँगै नयाँ शिराबाट अगाडि बढिरहेको परिप्रेक्षमा सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रुपमा अह्म भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको उनको भनाइ थियो । सबै सुरक्षा निकायसँग समन्वय गरेर कार्य गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले यस सङ्गठनको जनशक्ति विस्तार गर्दै लगिने र सीमा अपराध नियन्त्रणका लागि स्तरवृद्धि गरी ‘बोडर आउटपोष्ट’लाई बढाउँदै लैजाने सरकारी योजना रहेको जानकारी दिए।

अस्थायी गुल्मलाई स्थायी गर्ने र बाहिनीलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले योजना अघि बढाइएको छ भन्दै उहाँले अबको सुरक्षा प्रविधिउन्मुख हुने भएकाले समयानुकूल प्रविधि अवलम्बन गरेरसेवा विशिष्टीकरणका लागि सातै प्रदेशमा थप शिक्षालय स्थापना गरिने आश्वासन दिए । विपद् व्यवस्थापन तालीम केन्द्रले दक्ष जनशक्ति उत्पादन र खोज उद्धारमा उल्लेखनीय कार्य गरेको छ, यसैअनुरुप उच्च पहाडी र हिमालमा हुने विपद् उद्धारमा उच्च शिखर खोज तथा उद्धार शिक्षालय स्थापना गर्नेतर्फ आवश्यक तयारी भइरहेको छ भन्दै गृहमन्त्री थापाले यसका लागि मन्त्रालयमा योजना पेश गर्नसमेत सशस्त्र प्रहरीलाई निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीका सुझाव र निर्देशनलाई अक्षरशः पालन गर्दै देशको शान्ति र सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताए ।