समाचार

विगतमा सङ्गठित अपराध सक्रिय थियो, अहिले यी अपराध शून्यमा झरेको छः प्रवक्ता सुवेदी

चितवन । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताएका छन् । विगतमा प्रहरीलाई साङ्गठनिक अपराध नियन्त्रण गर्न चुनौती भए पनि हाल आएर सामाजिक अपराध न्यूनीकरण गर्न चुनौती थपिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा प्रवक्ता सुवेदीले प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने बताए ।

यसमा प्रहरीको मात्रै नभई स्थानीय सरकार, सामाजिक संस्था एवं नागरिककोसमेत उत्तिकै दायित्व रहेको उनको भनाइ थियो । “विगतमा सङ्गठित अपराध सक्रिय थियो, अहिले यी अपराध शून्यमा झरेको छ”, उनले भने । विगत केही समयदेखि सामाजिक विकृति, विसङ्गतिका कारण समाजमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको उनले औँल्याए । सङ्गठित अपराध नियन्त्रण गर्न प्रहरी सफल भएको भन्दै उनले गुण्डागर्दी गर्ने अधिकांशको प्रहरी मुठभेड (इन्काउण्टर) मा मृत्यु भएको र ४०० बढी कारागारमा रहेको जानकारी दिए । उनले सबैभन्दा बढी बलात्कारका घटना १५ वर्ष मुनिका बालिकामा हुने गरेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भयरहित समाज निर्माणका लागि प्रहरीसँग समन्वय गर्न आवश्यक रहेको बताए । स्थानीय तहमा पनि न्यायिक समितिमा विभिन्न मुद्दा आउनेक्रम बढेको भन्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले आगामी दिनमा प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। महिला अधिकारकर्मी, नागरिक समाजका अगुवाले प्रहरीलाई साथ दिने प्रतिबद्धता दिँदै प्रहरीले बलात्कार, हिंसा, घटनामा अझ सक्रियता बढाउन सुझाव दिएका थिए ।