गण्डकी प्रदेश

बागलुङमा श्रमजीवी पत्रकार कक्ष

बलेवा । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि नयाँ अभियान शुरु गरेको छ ।जिल्लाभर कार्यरत पत्रकारको तथ्याङ्क र ऐन कार्यान्वयनको स्थिति पहिचानका लागि सञ्चार माध्यमसँग समन्वय गर्ने कार्यक्रम महासङ्घले बनाएको हो । सो कार्यका लागि सचिव राम थापालाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष दिल शिरिषले जानकाररी दिए ।

जिल्लाभर कार्यरत श्रमजीवी पत्रकारको सङ्ख्या, नियुक्तिपत्र, पारिश्रमिक, दरबन्दी विवरणको अवस्थाबारे तथ्याङ्क सङ्कलनका साथै तिनको यथार्थ अवस्था बुझ्नका लागि यस्तो निर्णय गरिएको शाखा अध्यक्ष शिरिषले बताए । “अहिले महासङ्घमा आबद्ध १८० बाहेक अन्य नयाँ पत्रकारको सङ्ख्या पनि बढी भएपनि आधिकारिक तथ्याङ्क छैन’, उनले भने, “अर्कोतर्फ सञ्चार मन्त्रालयमा अनिवार्य रुपमा नियुक्तिपत्र र पारिश्रमिक उल्लेख गरेर दरबन्दी विवरण पठाउनुपर्ने भएकाले त्यसको एकप्रति महासङ्घले तयार गरेर ऐन कार्यान्वयनका लागि पहल तथा दबाब दिन र ‘श्रमजिवी पत्रकार डेस्क’ स्थापना गर्न लागिएको हो ।”

अहिले सरकारले न्यूनतम पारिश्रमिक ऐन प्रभावकारी कार्यान्वयनका लागि पत्रकारलाई तलब उपलब्ध गराएको बैंक स्टेटमेन्टसमेत अनिवार्य बुझाउन निर्देशन दिइएको छ । यो ऐन कार्यान्वयनका लागि पत्रकारले अनिवार्य रुपमा दैनिक आठ घण्टा काम गर्नुपर्ने र त्यसबापत कम्तीमा मोफसलमा १९ हजार २०० उपलब्ध गराउनुपर्नेछ ।