सुदूरपश्चिम

डडेल्धुराको पर्शुराम नगरपालिकामा पुल नबन्दा सर्वसाधारणलाई सास्ती

डडेल्धुरा । सशस्त्र द्वन्द्वमा विस्थापित पर्शुराम नगरपालिका पर्शुरामधाम नजिकको छोटी भन्सारमा पुल नबन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सो नगरपालिकाको वडा नं ५ को भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि भित्री मधेश क्षेत्रका स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । परीगाउँ बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा स्थानीय तथा व्यापारीलाई समस्या भएको हो ।

महाकाली नदी पारी नजिकै भारतको टनकपुर रहे तापनि छोटी भन्सार कार्यालय नहुँदा सामान ल्याउन कैलाली तथा कञ्चनपुर वनवासाबाट लामो बाटो हिड्नुपरेको छ । भारतको टनकपुरबाट भन्दा नेपालबाट सामान ढुवानी गर्न महङ्गो हुने गरेको स्थानीय व्यापारीको भनाइ छ । पर्शुरामबाट जिल्ला सदरमुकाम खलङ्गा, कैलाली र कञ्चनपुरभन्दा भारत नजिक पर्ने भएकाले भन्सार कार्यालय र पुल निर्माण भएको भए सहज हुने वडा नं ४ का स्थानीय रामबहादुर विष्टले बताए ।

सरकारलाई महाकालीमा पुल निर्माण र छोटी भन्सार कार्यालय स्थापना गरिदिन स्थानीयले आग्रह गरेका छन् । महाकालीमा पुल नहुँदा स्थानीय डुङ्गाको जोखिम पूर्ण यात्रा गर्नेसमेत बाध्य बनेका स्थानीय राजु भट्टले बताए । कञ्चनपुर भएर पर्शुरामधाम दर्शन गर्न आउने पर्यटक तथा भक्तजनलाई समेत यो बाटो सहज हुने भएकाले महाकाली नदीमा डुङ्गा चडेर जोखिम लिएर आउने गर्दछन् । तर, डुङ्गाको यात्रा जोखिम पूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर आउनुपर्ने बाध्यता रहेको कञ्चपुरबाट पर्शुराम तीर्थ स्नान गर्न आएका हर्कबहादुर बमले बताए ।

नगरपालिकाले बाङ्घाट र सिसमझाला गरी हाल दुई स्थानबाट अस्थायी नाका सञ्चालनमा छन् । वर्षेनी ठेक्कामार्फत डुङ्गा चलाइ दुवै नाकामा तार उतार कार्य भइरहेको छ । तार उतार कार्य भइरहेको सिसमझाला नाकामा सीमा प्रहरी चौकी तातोपानी र बाङघाट नाकामा प्रहरी चौकी परिगाउँमार्फत प्रहरी परिचालन गरिएको छ । नगरपालिकाले पटकपटक छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पहल गर्दा पनि सुनवाइ नभएको नगरप्रमुख भीमबहादुर साउदले बताए । चार धाममध्ये महत्वपूर्ण मानिने पर्शुराम धाममा भारतको पूर्णागिरिका पर्यटक भित्र्याउने उद्देश्य रहेकाले छोटी भन्सार कार्यालय र पुल निमार्णका लागि पहल चालिरहेको नगरप्रमुख साउँदले जानकारी दिए । पुल निर्माण भए भारतसँग धार्मिक आस्था बढ्ने उहाँको भनाइ थियो । छोटी भन्सार कार्यालय स्थापना गर्न र पक्की पुन निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको बताइएको छ । दुईमध्ये कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा अवैध तरिकाले भारतीय सामान भित्रिने गरेको बताइएको छ । सीमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौँ मूल्य बराबरका भारतीय सामान विनाभन्सार भित्रिँदा राजश्व गुम्ने गरेको छ ।