गण्डकी प्रदेश

बिना धितो ऋण सुविधाले उद्यम विकासमा सहयोग

म्याग्दी । दुईरचार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग परेका छन्। आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थालेका हुन् । रु ५० हजार ऋण लिएर तीन वर्षअघि बाख्रापालन शुरु गरेकी विश्वकर्मा अहिले घर व्यवहार र छोराछोरीको पढाइ खर्च पु¥याएर बचत गर्न थालेको बताए । एकतीस महिला मिलेर रु २० का दरले बचत सङ्कलन गरेर २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाले सामूहिक जमानीको आधारमा कर्जा उपलब्ध गराएपछि सजिलो भएको छ ।

जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा रहेका ३३ वटा समूहमार्फत ७०१ सदस्य सहकारीमा आबद्ध गराएर तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैँसीपालन, पसल, व्यापारलगायतका कामका लागि रु एक करोड छ लाख २४ हजार ८६५ लगानी गरिएको अध्यक्ष शान्ता लामिछानेले बताए ।  एक पटकमा रु ५० हजारसम्म लगानी गरिएको उनले जानकारी दिए । सहकारीमा आबद्ध भएपछि महिला र बालबालिकामा फजुल खर्च न्यूनीकरण र नियमित बचत गर्ने बानीको विकास भएको छ ।

यसैगरी मल्लाजमै रहेको साना किसान कृषि सहकारी संस्थाले पनि कृषकलाई बिना धितो जमानीका आधारमा सहुलियत ब्याजदरमा रु चार करोड २७ लाख लगानी गरेको अध्यक्ष हेमकुमारी अधिकारीले बताए । साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर माझफाँट, लेकफाँट र बाँसखर्कमा बिना धितो १५ देखि १६ प्रतिशत ब्याजदरमा लगानी गरिएको प्रबन्धक सनिता कार्कीले जानकारी दिए । पाँचसम्मको १०४ समूह बनाएर सामूहिक जमानीका आधारमा बिनाधितो एक जनालाई एक पटकमा रु एक लाखसम्म ऋण लगानी गरिएको सहकारीले जनाएको छ । प्रबन्धक कार्कीका अनुसार सरकारबाट थप अनुदान लिएर बाख्रा, कुखुरा, गाईभैँसीपालन, तरकारी र फलफूल खेतीमा लगानी बढाउने योजना रहेको छ ।