समाचार

मानवअधिकार प्रतिष्ठानद्वारा डा. केसीसँग वार्ता गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा. डा. गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ ।

सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ । उक्त प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव हरिश्चन्द्र भट्टराईले आज जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाबाट सो विधेयक पारित हुनु र त्यसपछि पक्षविपक्षमा राजनीतिक दल, स्वास्थ्यकर्मी तथा नागरिक समाज विभाजित हुनाका साथै स्थिति थप अन्योलपूर्ण भएकाले वार्ताबाट समाधान गर्न आग्रह गरिएको हो ।

गत पुस २६ गतेदेखि डा केसी सोह्रौँ पटक आमरण अनशनमा छन् । उनको स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केसीको विरोधमा अनशनरत विजय थापाको स्वास्थ्यस्थिति पनि कमजोर भएको जनाइएको छ ।केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन घोषणा गरेको छ भने त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालले अस्पताल परिसरमा अनशन नबस्न आग्रह गरेको छ ।