बाग्मती

‘अरनिको युवा पुरस्कार’ कलाकारद्वयलाई प्रदान गरिने

काठमाडौँ । यस वर्षको ‘अरनिको युवा कला पुरस्कार’ युवा कलाकारद्वय समुन्द्रमानसिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति अरनिकोको सम्मान तथा नेपाली कलाको संरक्षण र विकासमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय युवा सेवा कोषद्वारा विसं २०५७ मा स्थापित सो पुरस्कारको राशि नगद रु ५० हजार, स्वर्ण पदक तथा प्रमाणपत्र रहेको छ । नेपाली परम्परागत, आधुनिक एवं मौलिक चित्रकलाको फाँटमा निरन्तर सक्रिय रही प्रशंसनीय योगदान दिएवापत कलाकारद्वयलाई सो पुरस्कार प्रदान गर्न लागिएको कोषद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै कोषद्वारा नै विसं २०४८ मा स्थापित यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक, सङ्गीतकार तथा लेखक अजर जङ्गमलाई अर्पण गरिने भएको छ । नेपाली लोक, आधुनिक, मौलिक तथा सुगम सङ्गीतका फाँटमा अतुलनीय योगदान पु¥याउनुभएका स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ४० हजार नगद, स्वर्णपदक तथा प्रमाणपत्र रहेको छ । कोषका अध्यक्ष भीमबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा ती पुरस्कार शहीद दिवसका दिन बुधबार वितरण गरिने जनाइएको छ ।