प्रदेश 1

सुन्दरी प्रतियोगिताका विजेतालाई मेहताद्वारा लैनो भैँसी, कुस्तीमा भगवत र मनिषा

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ ।

कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका मेयर राजन मेहताले दिएका हुन् । उनले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गरेका हुन् ।

प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो ।

कुस्ती प्रतियोगिता सम्पन्न

सुनसरीको कोशी गाउँपालिकामा विपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ । कोशी कटानमा सम्पन्न सो प्रतियोगितामा पुरुषतर्फ भागवत शाह, वृजेश यादव, सञ्जय तिवारी, श्रवणकुमार ठठेर, रामचन्द्र यादव, रमेश चन्द र समिरकुमार साह पहिलो भए ।

महिलातर्फ मनिषा सिंह, सङ्गीता धामी, सुशीला चन्द, लक्ष्मी खत्री र शान्ती चौधरी प्रथम भए । विभिन्न उमेर समूहका विजेता तथा उपविजेतालाई प्रदेश नंं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी र इनरुवाका नगर प्रमुख मेहताले पुरस्कार वितरण गरेका थिए । नेपाल प्रहरी, नेपाली सेना, गण्डकी प्रदेशबाहेकका ६ प्रदेश र आयोजक कोशी गाउँपालिकाको सहभागिता रहेको थियो । सृष्टि समाज इनरुवाले सो प्रतियोगिता आयोजना गरेको हो ।