राजनीति

काङ्ग्रेस हिंशात्मक नभई जिम्मेबार प्रतिपक्ष बनेमात्र समृद्धी सम्भबः बरिष्ठ नेता नेपाल

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताउनुभएको छ ।

खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उनले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गरेका हुन् । देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उनले देश बिकासका लागि पुरानो लोकतान्त्रीक दल प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो रहेको बताए ।

उनले नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउने बताउँदै यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा पनि छिट्टै नेकपाले पूर्णता पाउने बताउनुभयो । चिकित्सा शिक्षा विधेयकमाथि टिप्पणी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले डा गोविन्द केसीले राखेका सबै माग पूरा भएको जिकिर गरे । उनले केही माग छुट भएको भए सम्बोधन गर्न सरकार तयार रहेको समेत जानकारी गराए ।

कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा २० ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रममा तादी भ्यू एकेडेमीलाई कम्प्युटर प्रदान गरिएको थियोे ।