प्रदेश 2

सप्तरीमा किशोरीलाई मन्दिर घुम्न फकाएर लगि बलात्कार गर्नेविरुद्ध मुद्दा

सप्तरी । प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध आज उजुरी दर्ता गरेको छ ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी फकाइ मोटरसाइकलमा शनिबार लगेका आरोपितले मन्दिर घुमेपछि साँझ आफ्नो साथी विशाल पासवानको कल्याणपुरस्थित घरमा लगी बलात्कार गरेको पीडितले बताइन् । आरोपितले मोबाइल खोसी आफूसँग हिँडन बाध्य पारेको उनले बताइन् । घटनाका बेला विशालसहित परिवारका सदस्य कोही पनि घरमा थिएनन् ।

पीडितले होहल्ला गरेको सुनेर घटनाका बारेमा थाहा पाएका छिमेकीले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका हुन् । पीडितका बुबाले आइतबार दिएको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए ।