खेलकुद

एक दिवसीय क्रिकेटमा पारसको पहिलो शतक

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् ।

युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए ।

पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नामिबियाबिरुद्ध शतक प्रहर गरेका पारसले गत वर्ष युएईविरुद्ध नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा शतक बनाएका थिए ।