खेलकुद

निरञ्जन र बिशालको जोडीको बिजयी सुरुवात

काठमाण्डौ । एपिएफका निरञ्जन देवकोटा र बिशाल तामाङ्गको जोडी नवौं बबिन बिक्रम बिष्ट स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गर्न सफल भएका छन् । एपिएफका जोडीले बानेश्वर हाईटका प्रविण भोजु र शंकर रम्तेलको जोडीलाई २१–१५, २१–१० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित किङ्गकम स्पोर्टस् क्लबको आयोजनामा भएको पुरुष युगलमा मात्र भएको प्रतियोगिताको अर्को खेलमा देउराली क्लबका हिमाशुं श्रेष्ठ र थम रानामगरको जोडीले पनि जित निकालेका छन् । श्रेष्ठ र मगरको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका प्रदीप महर्जन र बिकाश महर्जनको जोडी माथी २६–२४ र २२–२० को जित निकाले ।

खुला मैदानमा बनेको एकल कोर्टमा भएको प्रतियोगितामा जित निकाल्ने क्रममा जोरपाटी ब्याडमिन्टन क्लबका गणेश श्रेष्ठ र अमित लामाको जोडीले गुपट्याक्स ब्याडमिन्टन क्लबका मधुसुदन भण्डारी र रवीशंकर शर्माको जोडीलाई २१–१५, २१–१२ ले पाखा लगाउन सफल भए ।

राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगल तर्फ शिर्ष २० बरियतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगितामा प्रथम हुने जोडीले रनिङ्ग शिल्डका साथै नगद ४० हजार, मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोश्रो तथा तेश्रो हुने जोडीले क्रमशः नगद २५ हजार र १५ हजारका साथै मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । माघ २६ गते सम्म हुने प्रतियोगिताको अनुमानित लागत करिव ४ लाख ९५ हजारको रहेको छ ।