समाचार

समाज परिवर्तनका लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तनका लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १०औँ साधारणसभामा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।”

मुख्यमन्त्री भट्टले पूर्वाग्राही नभई सत्यतथ्य र यर्थातपरक समाचार सम्प्रेशन गर्न सञ्चारकर्मीेलाई आग्रह गर्दै विकास प्रक्रियालाई अगाडि बढाउन सबैको सहयोग, सहकार्य र एकता आवश्यक छ भने । नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले समाजमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई खबरदारी गर्ने माध्यम पत्रकारिता भएको बताए ।

महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत पत्रकार उमिद बाग्चन्द, करुणाकर पाण्डे, मनमोहन स्वाँर, कर्ण शाह र प्रकाशबिक्रम शाहलाई सम्मान गरिएको थियो ।