समाचार

हिउँदे वर्षाले इँटा उद्योगमा क्षति

काठमाडौँ । मुलुकभर शुरु भएको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति पुगेको छ । पोल्ने तयारीका लागि बनाइएका लाखौँ काँचो इँटामा वर्षाले क्षति पु¥याउँदा ठूलो नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । मुलुकभर हाल एक हजार बढी ‘फिक्स चिम्नी’ भएका इँटा उद्योग छन् ।

एक साताको अवधिमा वर्षाले आधाजति उद्योगका काँचो इँटामा क्षति पुगेको महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर चन्दले जानकारी दिए । वर्षाले मुलुकभरका इँटा उद्योगमा भएको क्षतिका बारेमा भने महासङ्घसँग यकिन तथ्याङ्क छैन । यद्यपि वर्षाले पूर्वको तुलनामा पश्चिम क्षेत्रका उद्योगमा बढी क्षति पु¥याएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष चन्दका अनुुसार वर्षाले एउटै उद्योगका १५ लाखभन्दा बढी काँचो इँटामा क्षति पुगेको छ । मौसमभरि पोल्नका लागि काँचो इँटा बनाउने हाल सबैभन्दा उत्तम समय हो । उद्योगीले यस समयमा बढीभन्दा बढी काँचो इँटा तयार गरेर ‘स्टक’ राख्ने र मौसमभरि पोल्ने गर्छन् । इँटा उद्योगीले सरकारले इँटा उद्योगलाई प्राथमिकता नदिएको र बीमाको पनि व्यवस्था नभएको गुनासो गर्ने गरेका छन् ।

प्रत्येक इँटा उद्योगले एक मौसममा औसत ४० लाखदेखि एक करोडसम्म इँटा उत्पादन गर्ने गरेका छन् । प्रतिएक काँचो इँटा तयार गर्न औसत दुई रुपैयाँ ५० पैसादेखि पाँच रुपैयाँसम्म लागत लाग्ने महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका न्यू गणेश इँटा उद्योगका प्रोप्राइटर दीपेन्द्र ऐरले जानकारी दिए । वर्षाले बिग्रेका र गलेका इँटा हटाउन श्रम र समय लाग्ने भएकाले उत्पादनमा समेत असर पर्ने उनले चिन्ता व्यक्त गरे. ।