समाचार

तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा समेत सेवा नपाउने सेवाग्राहीको सङ्ख्या बढिरहेको कार्यालयले जनाएको छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही नवीकरणका लागि आवेदन दिएका सेवाग्राही रहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले बताए । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म छ लाख ८० हजारले अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती मध्ये अहिले चार लाख १० हजारसम्मको वितरण भइसकेको छ । विभागले छपाइ गरेर कार्यालयमा पठाउँदा क्रमिक रुपमा नपठाएको उनले बताए। ती सेवाग्राही आफ्नो अनुमतिपत्र आएको छ छैन भन्ने बुझ्ने कार्यालय आउने गरेको कार्यालयले बताएको छ ।

उनले भने, “कति त आएको छैन भनेपछि सजिलै फर्कन्छन् कतिले भने ढिलाइ भएको भन्दै कराउने गर्छन् ।”नेपालमा पहिलो पटक यही कार्यालयबाट नै ‘स्मार्ट’ चालक अनुमतिपत्रको शुरु भएको प्रमुख उप्रेतीले बताए । अहिले देशभरका यातायात व्यवस्था कार्यालयले यो सेवा दिने गरेका छन् । विभागले नै देशभरका कार्यालयबाट आएका आवेदनबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने गरेको छ । विभागमा भएको मेसिनको क्षमता भन्दा बढी छाप्नुपर्दा ढिलाइ भइरहेको उप्रेतीले बताए । अहिले १३ महीना पहिले आवेदन दिएका सेवाग्राहीको चालक अनुमतिपत्र वितरण भइरहे पनि क्रमिक नहुँदा त्यो भन्दा पहिलेका सेवाग्राहीले समेत पाएका छैनन् । उनले भने, “चार लाख १० हजार भन्दा पुरानो अनुमतिपत्र समेत वितरण गर्न बाँकी छ ।” ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालकले लामो समयदेखि राजश्व तिरेको रसिद बोकेर सवारी चलाइरहेका छन् ।