प्रदेश 1

गाउँगाउँमा घुम्ती शिविर, घरघरमा सेवा

ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताए ।

खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय सरकारसँगको समन्वयमा सबै आठ वटै स्थानीय तहका गाउँगाउँमा सरकारी घुम्ती शिविर पु¥याइने उनको भनाइ छ । लिखु गाउँपालिकामा सञ्चालन भएको शिविरमा ३८४ जना र खिजीदेम्बा गाउँपालिकामा सञ्चालन भएको शिविरमा करीब ६०० जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

गाउँमा सञ्चालन भएको शिविरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिलाई बढी सुविधा भएको छ । सेवा लिन सदरमुकामसम्म पुग्न नसक्ने सेवाग्राही गाउँमै दिइएको सेवाबाट लाभाम्वित भएका हुन् ।  ‘क’ श्रेणीको अपाङ्गता परिचयपत्र भएका तर नागरिकता नभएका कारण सेवाबाट वञ्चित उनीहरु घरैमा सेवा पाएपछि खुशी भएका छन् । सरकारी घुम्ती शिविर लिएर गाउँ पुगेको टोलीले शिविरस्थलसम्म पनि आउन नसक्नेलाई घरघरमै पुगेर सेवा दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले बताए।  ‘नागरिकलाई सहज सेवा दिनकै लागि टोली लिएर गाउँ पुग्दा त्यहाँ पनि आउन नसक्नेलाई घरैमा पुगेर सेवा दिने गरेका छौं ।’ पौड्यालले भने ।