बाग्मती

काठमाडौँ महानगरपालिकाले फागुन महीनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन महीनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने भएको छ । कामपाले आज पत्रकार सम्मेलनमा आगामी फागुन महीनाभित्र ब्रुमर ९यान्त्रिक कुचो० ल्याइसक्ने जानकारी गराएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार रु १२ करोडमा पाँच बु्रमर इटलीबाट ल्याइनेछ । हाल कामपामा प्रयोगमा रहेको एक र मर्मत गर्नुपर्ने दुई ब्रुमर छन् ।

कार्यक्रममा मनोहरा खोला आसपासको जग्गा एकीकरणअन्तर्गत नदीको दायाँबायाँ पर्खाल लगाउने काम भइरहेको, उक्त स्थानका ६१ ग्यारेजलाई हट्न निर्देशन दिइएको र कमलपोखरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान प्रक्रियामा गएको पनि जानकारी गराइएको थियो । कामपामा सबै वडा कार्यालयको आफ्नै भवन बनाउन चालू आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन गरिएको छ । वडा नं ६ र ७ को भवन निर्माणाधीन अवस्थामा रहेको तथा वडा नं १८ र २६ को हालै शिलान्यास भएको छ । वडा नं ४, ८, ९ र १४ को कार्यालय भवन निर्माणका लागि खरीद प्रक्रियामा पुगेको प्रवक्ता डङ्गोलले जानकारी दिए ।

‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत सबै वडाबाट आठ हजार ५०० थान बत्तीको माग भएकामा ६५० थान बत्ती जडान भइसकेको छ । आकाशे पुल निर्माणका लागि चालु आवमा रु १२ करोड बजेट छुट्याइएको छ । दुई स्थानान्तरण गर्न सकिने आकाशे पुलको डिजाइन तयार भइसकेको र निर्माणको चरणमा रहेको छ । वडा नं २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जग्गामा पार्किङ स्थल बनाउन बोलपत्र आह्वान गरिएको र आशयपत्र आउनेक्रम जारी रहेको छ । साथै दरबार मार्गमा पनि ‘स्मार्ट पार्किङ’ निर्माण गर्ने योजनामा कामपा रहेको छ ।

विगत छ महीनामा सडक पेटी अतिक्रमण गरी पसल सञ्चालन गर्ने ६७२ जनालाई कारवाही गरिएको तथा अव्यवस्थितरूपमा राखिएका चार हजार ७५६ मोटरसाइकल नियन्त्रण लिई चालकलाई कारवाही, छाडा चौपाया ९९ व्यवस्थापन, अनधिकृत विज्ञापन ३९ वटा हटाइएको छ । त्यसैगरी वडा नं २२, २३, २४ र २५ को सडक छेउमा राखिएका फुटपाथ पसल हटाउनका लािग विशेष पहल शुरु गरिएको छ । शहरलाई सुन्दर बनाउन अव्यवस्थितरूपमा छरिएको तार व्यवस्थापनको काम पनि कामपाले गरिरहेको छ ।

प्रवक्ता डङ्गोलले उपत्यका विकास प्राधिकरण आवश्यकता नरहेको भन्दै प्राधिकरणले स्थानीय तहको अधिकार खोसेको र त्यस विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिए । काठमाडौँ दृश्यावलोकन स्तम्भ निर्माण कम्पनीले निर्माणको काममा गति नलिएकाले अझै लामो समय यसै गरेमा निर्माणका लागि गरिएको सम्झौता खारेजीका पक्षमा कामपा रहेको जनाइएको छ ।