स्वास्थ्य

जिल्ला अस्पतालमा चिकित्सकको अभाव

विदुर । जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडौँ बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ । चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । सहज र सुविधायुक्त स्वास्थ्यसेवा प्रवाह गर्ने राज्यले घोषणा गरे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा भने चिकित्सक आउन नमान्दा समस्या भएको जिल्ला अस्पताल त्रिशूलीका निमित्त प्रमुख देवकी खतिवडाले बताए ।

तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल नुवाकोटमा सबै दरबन्दी रिक्त रहेको छ । विगत ६ महीनादेखि विषेशज्ञ चिकित्सक अभावमा गम्भीर बिरामी उपचारका लागि काठमाडौँ गइरहेका छन् । दैनिक रुपमा दुई सय भन्दा बढी बिरामी अस्पताल आउने गरेका छन् । भूकम्पले पूर्ण रुपमा क्षति पुगेको जिल्ला अस्पतालको नयाँ संरचना निर्माण भइरहेको छ । ५५ श्ययाको जिल्ला अस्पताल भूकम्पपछि २५ श्यया मात्रै राखेर सेवा प्रवाह गर्दै आएको थियो । तर बिरामीको चाप बढेसँगै ३७ श्यया बनाइएको छ । जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दीमा रहेका चिकित्सक काजमा भन्दै काठमाडौँमा नै बसिरहेका छन् ।

प्रदेश र सङ्घ अन्तर्गत जिल्ला अस्पताल विकास समितिले काजमा गएका चिकित्सक जिल्लामा नै पठाउनको लागि आग्रह गरे तापनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद भट्टले बताए । अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् ।