कर्णाली प्रदेश

हुम्लीको हिउँदे जीवनशैली

हुम्ला । हुम्ला नेपालका अन्य ७६ जिल्लाभन्दा उच्च हिमाली जिल्लामा अवस्थित रहेकाले यहाँको दैनिकी हिउँदको समयमा निकै समस्याग्रस्त हुने गर्दछ । हुम्लामा असारदेखि भदौ तीन महीना केही तातोको महसुस हुने भएपनि बाँकी नौ महीनामा चिसोले सताउँछ ।

कात्तिकको महीना शुरु भएसँगै चिसो बढ्दै जानुका साथै हिमपात हुने गर्दछ । यहाँका स्थानीयवासीले हिउँदको समयमा हिमपात हुने भएकाले अन्नपात असोजको महीनाबाट नै जोहो गरेर भण्डार गरी घरमा थन्क्याउने गर्दछन् । हुम्लामा अचानक हिमपातले महीनौँ दिनसम्म आवतजावत गर्न निकै समस्या हुने भएकाले अन्नको भण्डार तीन महीना अगाडि नै गर्नुपर्ने हुन्छ । हुम्लामा गएको १० वर्षयताकै यो वर्ष भारी हिमपात भएको छ । हिमपातमा शरीरलाई सुरक्षित बनाउने पुराना परम्परा आफैँले बनाएका ऊनका कपडाको प्रयोग हुने गरेको सिमकोट गाउँपालिका–२ का गोकुल बोहराले बताउनुभयो । बोहराले भने, ‘‘आफूहरुले बालापनमा घरमै बनाएका ऊनीका बाक्लो बख्खु लगाएर हिउँमा रमाउन जान्थ्यौं । तर पछिल्लो समय हिउँसँगै जोडिएका सबै संस्कृति र रहनसहन हराउँदै गएको छ ।’’

पछिल्लो समय जलवायु परिवर्तनसँगै हुम्लामा हिमपात कम हुने भएकाले पनि हिउँमा लगाउने दोचा जुत्ता, बख्खु, राडीको कम्बललगायतका आफैँले बनाउने कपडाको लोभ देखिएको अर्का स्थानीय शोभा भण्डारीले बताए । भण्डारीका अनुसार आफू बच्चा हुँदा यो वर्ष जत्तिकै हिमपात हुने गर्दथ्यो हिउँमा परम्परा कपडा देखिन्थे पछि हिउँ कम आउन थाल्यो हिउँ पर्दा प्रयोग हुने संस्कार हराउँदै गयो । “हिउँदको समय मङ्सिरदेखि हिमपात हुने गदथ्र्यो हामी घरलाई घर बाहिर निस्कन समस्या हुने गर्दथ्यो तर घरभित्रै बसेर कमै, सिमीलाई सँगै मिसाएर कोल बनाउने खाने चलन बढी थियो”, भण्डारीले भने ।

हुम्लाको उच्च क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाका वासिन्दाकोजीवनशैली अन्य गाउँपालिकाका नागरिकको भन्दा फरक छ । नाम्खा गाउँपालिका को तील, जाङ, हल्जी, यारी, नारा र लिमीका बासिन्दा मङ्सिर लागेसँगै जिल्ला बाहिर चिसो छल्न जाने गर्दछन् । त्यस क्षेत्रमा सबैभन्दा बढी हिउँ जम्ने भएका कारण पनि जिल्ला बाहिर जाने गर्दछन् । गाउँमा कमैमात्रमा घर कुरुवा, बुढापाखा मात्र हुने गरेको त्यस क्षेत्रकै स्थानीय बासिन्दा पेमा लामाले बताए । हिमपात भारी हुँदा त्यस क्षेत्रका स्थानीयलाई घर बाहिर निस्क समस्या हुने गर्दछ । घरपालुवा पशुबस्तुलाई समेत चरन क्षेत्रमा हिउँ जमेका कारण गोठभित्रै थन्क्याउने गरिएको लामाले बताए । हिमपातले त्यस क्षेत्रका स्थानीय फोन सम्पर्कमा समेत बिच्छेदसमेत हुने गरेको उनको भनाइ छ । बिरामी हुँदा पनि समस्या हुने उनले बताए ।

हुम्लामा पुसयता तापक्रम माइनसमा झरेको छ । लगातार एक हप्तादेखिको हिमपातले नेपाल प्रहरीलाई बजारगस्तीमा पठाउन पनि समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए । दिउँसोको समयमा बजारगस्तीमा खटिने नेपाल प्रहरी समस्या कमै हुने भएपनि रातिको समयमा सुरक्षार्थ जाने प्रहरीलाई हिउँ पर्दा समस्या देखिएको उनले बताए । माइनस १५ डिग्रीमा हिमाली जिल्लाका प्रहरीका लागि दिइएको हिमाली पोशाकले जाडो नछेक्ने उनको भनाइ थियो । बजार गस्तीमा जाँदा जताततै हिउँ भएका अडेस लगाउने ठाउँसमेत भेटाउन समस्या हुने गरेको दूरसञ्चारका भीम बस्नेतले बताए ।

हुम्लामा हिमपात हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी हिमपातको समयमा फुर्सदिला हुने गर्दछन् । हिउँदको पुस, माघ, फागुन तीन महीनाको समय हुम्लालगायत कर्णाली प्रदेशमा भारी हिमपात हुने गर्दछ । हिमपातमा सेवाग्राही सेवा लिन नआउनुले पनि फुर्सदिला बनेका हुन् । अफिस जाँदा काम नहुने चिसो अत्यधिक हुने भन्दै कर्मचारी कार्यालय जानुभन्दा कोठामै बस्ने नन्द सिंहले बताउनुभयो । हिमपातपछिको चिसोले सिमकोटमा कर्मचारीलाई काम गर्न निकै समस्या भएको छ ।

हिमपातले कर्णालीलगायत हुम्लाका किसानलाई ठूलो राहत हुने गर्दछ । समयमै पानी नपर्नाले किसानले लगाएको जेठासी बालीका राम्रो उब्जनी नहुने हुँदा किसान चिन्ती हुने गर्दथे । यसपटकको भारी हिमपातले सधैँ भोकमारी र खडेरीको समस्या भोग्दै आएका किसानलाई राहत हुने भएको भक्त ऐडीले बताए । विगतका वर्ष उच्च हिमाली बस्तीमा मात्र हिमपात हुनेहुँदा किसानले भोकमरीको समस्या खेप्दै आउने गरेका थिए । यस वर्ष माघ पहिलो सातादेखि जिल्लाका सातवटै गाउँपालिकामा हिउँ परेपछि यहाँका किसान खुशी भएका छन् ।