स्वास्थ्य

सुरक्षित गर्भपतन गराउने बढ्दै

दाङ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि माघ १३ गतेसम्म १४५ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका ५५ जना अरु २० वर्षमाथिका रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर रेकर्डर दुर्गा रेग्मीले जानकारी दिएका छन् ।

सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् । त्यसैगरी गत वर्ष सो अस्पतालबाट एक हजार ४८ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए । २० वर्षमुनिका ५९ जना, २० वर्षमाथिका ९८९ जना महिलाले निःशुल्क रुपमा गर्भपतन गराएका थिए । सबैभन्दा बढी दाङ, केही सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि रहेका छन् । अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले केहीले आफ्नो ठेगाना समेत ढाट्ने गरेको पाएको छ ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद सिंहले सरकारी मान्यता प्राप्त अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सल्लाह दिए। उनले भने, “अस्पतालमा गर्भपतन गराउँदा सबैले देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानूनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन् ।”

असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानसक्ने, स्वास्थ्यमा समेत जोखिम पु¥याउने भएकाले सरकारले कानूनी मान्यता दिएका स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउनुपर्ने बताए । चिकित्सक विनोद सिंहले प्रत्येक महीनामा चार पाँच जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा तथा अत्यधिक रक्तश्राव हुने गरेका बिरामी उपचारको लागि अस्पतालमा आउने गछन् भने ।

गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने उनको भनाइ छ । अहिले परिवार नियोजनका साधन अविवाहितका लागि पनि अस्पतालमा निःशुल्क पाइन्छ । अविवाहितले पटक÷पटक गर्भपतन गराउँदा पछि बच्चा नहुनेसमेत उनले बताए । चिकित्सक सिंहले अस्पतालले आठदेखि १२ हप्तासम्मको गर्भ महिलाको इच्छाअनुसार तोकिएको मापदण्डअनुसार औजारको सहायताले गर्भपतन गराउने गरेको बताए ।

त्यस्तै १२ हप्तादेखि १८ हप्तासम्मको भने बलात्कार, हाडनाता करणी र आमाको गर्भका कारण ज्यान नै खतरामा पर्ने प्रमाणित भएमा मात्र गर्भपतन गरिने कानूनी मान्यता रहेको छ । दाङमा सुरक्षित गर्भपतनको मान्यता राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, मेरी स्टोप्स् सेन्टर तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ, नेपाल परिवार नियोजन सङ्घ दाङलगायतका स्वास्थ्य संस्थाले पाएका छन् ।