कृषि

उत्पादन र उत्पादकत्व बढाउन किसानको तत्परता आवश्यक छ – मन्त्री खनाल

बर्दिवास । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वर्तमान सङ्घीय सरकार कृषि क्षेत्रका सम्भावना बढाउँदै जनता प्रत्यक्ष लाभान्वित हुने योजनामा केन्द्रित रहेको बताएका छन् ।

आइतबार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ कृष्णपुरमा होलसेल कृषि बजार तथा कृषि प्रवद्र्धन केन्द्र स्थापनाको सम्भाव्यताबारे स्थलगत निरीक्षण गरेका मन्त्री खनालले सरकार कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ योजनाबद्धरूपमा लागेको बताएका हुन् । सरकारले मुलुकका सातवटै प्रदेशमा होलसेल कृषि बजार स्थापना गर्ने निर्णय गर्दै सोका लागि धमाधम ठाउँ छनोट गर्ने, विस्तृत परियोजना प्रतिवेदन बनाउने र तत्काल निर्माण काम थाल्ने योजना अघि बढाएको मन्त्री खनालले जानकारी दिए ।

“सरकार अब कुनै जग्गा बाँझो राख्न नहुनेगरी काममा जुटेको छ”, मन्त्री खनालले, “उत्पादन र उत्पादकत्व बढाउन अब किसानको तत्परता आवश्यक छ ।” सरकार उत्पादित फसलको सुनिश्चित बजार व्यवस्थापनमा जुटिसकेको मन्त्री खनालको भनाइ थियो । सिँचाइको प्रबन्धदेखि कृषि ज्यावल, मल, बीउ, सुलभ ऋण र बजारको समुचित व्यवस्था गरिने उनले बताए । मन्त्री खनालले बर्दिवास–६ कृष्णपुरमा यसै शैक्षिकसत्रदेखि सञ्चालनमा आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पनि अवलोकन गरे ।

यसअघि मन्त्री खनालसँग आम किसानले जग्गा उर्वर भए पनि सिँचाइ, मल, बीउ, प्राविधिक हेरचाह र बजार नहुँदा आपूmहरू दीनहीन र निरीह बन्नुपरेको गुनासो गरेका थिए । मन्त्री खनाललाई बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले नगरमा मेयर कृषि कार्यक्रम सञ्चालन गरेर नमूना कृषि क्षेत्र विकास गर्न निश्चित बजेट नै विनियोजन गरेर काम शुरु गरिएको जानकारी गराए । सो कार्यक्रमअन्तर्गत सिँचाइ, उन्नत बीउ, मलको सरल बजार, कृषिउपज भण्डारण र बजार प्रवद्र्धनजस्ता क्षेत्रमा काम गरिने प्रमुख कार्कीले जानकारी दिए ।