समाचार

न्यूनतम् तापक्रम ३.५ डिग्री सेल्सियस हुँदा बढी चिसो महसुुस

काठमाडौँ । आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३।५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको संभावना छ । राति भने देशभरि नै मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै बुधवार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।