खेलकुद

क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेल्दैछ ।

घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ ।

नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।