स्वास्थ्य

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ ।विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले आइतबार सो प्रतिष्ठानको स्थितिबारे ध्यानाकर्षण गराएपछि मन्त्रालयले सो जानकारी दिएको हो ।

उपप्रधानमन्त्री यादवले प्रतिष्ठानमा देखिएको समस्या छिटो समाधान गर्न आफूले पहल गर्ने जानकारी दिनुभएको भेटमा सहभागी सांसद सुजिता शाक्यले बताए । भेटमा सांसद कोमल ओली, रेखा शर्मा, शान्ता चौधरी, गङ्गा चौधरीलगायत सहभागी थिए।

यसैबीच नेपाल रेडियोलोजिष्ट एशोसिएशनको अध्यक्षमा डा दानबहादुर कार्की चयन भएका छन् । एशोसिएशनको आइतबार सम्पन्न निर्वाचमा उपाध्यक्षमा डा प्रकाश कायस्थ, महासचिवमा डा अनामिका झा, सहसचिवमा डा कृष्ण बुढाथोकी, कोषाध्यक्षमा डा सुन्दर सुवाल र सहकोषाध्यक्षमा डा मनिन्द्र श्रेष्ठ तथा सदस्यहरूमा डा प्रकाश शर्मा, डा सूर्यप्रसाद सापकोटा र डा कल्पना राई बिजयी भएका थिए ।