समाचार

सिक्टा सिँचाइ आयोजनाका प्रमुख इञ्जिनीयर तारिखमा छुटे

काठमाडौँ । विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनीयर सरोज पण्डित रु ८० लाख धरौटी राखेर तारिखमा छुटेका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासमा बहसपछि सो धरौटी राखेर तारिखका छुटेका हुन् ।

विशेष अदालतका रजिस्टार भीमकुमार श्रेष्ठका अनुसार पण्डित आजै विशेष अदालतमा हाजिर हुन आउनुभएको थियो । बहसपछि थुनछेकको आदेशअनुसार रु ८० लाख धरौटी अदालतले माग गरेको थियो । सो रकम धरौटी राखेर तारिखमा छुटेका हुन् ।

आयोगले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवम् ठेकेदार कम्पनी कालिका कन्सट्रक्सनका मालिक पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध रु साढे आठ अर्ब बिगो दाबीसहित गत मङ्सिर २१ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले पण्डितले रु ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यही माघ २ गते पूर्वमन्त्री पाण्डे रु चार करोड धरौटीमा राखेर तारिखमा छुटेका थिए ।

सो आयोजनाको डिजाइनमा नै त्रुटि रहेको, मूल नहर भत्किएको, निर्माणमा खटिएका प्राविधिक, कन्सल्टेन्ट तथा निर्माण व्यवसायीले उचित निरीक्षण नगरेका आरोप अख्यिातरले लगाएको थियो ।