खेलकुद

मेयर कप भलिबल उपाधि तुलसीपुर र दङ्गीशरणले जिते

दाङ । तुलसीपुरमा आज सकिएको मेयर कप भलिबलअन्तर्गत पुरुषतर्फको तुलसीपुर उपमहानगरपालिका र महिलातर्फ दङ्गीशरण गाउँपालिका समूहले जितेको छ ।

पुरुष भलिबलमा ३–२ अन्तरले तुलसीपुर उपमहानगरपालिकाले राप्ती गाउँपालिकालाई हराउँदै उपाधि हात पार्न सफल भएको हो । महिलातर्फ शनिबारको खेलमा शान्तिनगर गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै दङ्गीशरण गाउँपालिकाले उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७५, ५० र ३० हजार पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

दाङको खेल क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो । खेलकूदको क्षेत्रको समाचार सङकलनमा सक्रियता देखाएको भन्दै रासस दाङका प्रमुख नारायणी रजौरे, राससकर्मी दीपक बोहरा, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, खेलकूद पत्रकार सङ्घ दाङका अध्यक्ष लक्ष्मण बस्नेत लगायतका पत्रकारलाई सम्मान गरिएको थियो ।