राजनीति

प्रवक्ता श्रेष्ठको दाबीः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अराजकता मौलायो

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गरे।

तनहुँको दमौलीमा आज कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए । उनले पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताए । कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताए ।

चिकित्सा शिक्षा विधेयकमा डा केसीको पहिलेको मागहरु सबै सम्बोधन भइसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको बताए ।