समाचार

हिमपातले चिनियाँ सामान आयात ठप्प

रसुवा । हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले चिनियाँ भूभागको सडक तीन दिनदेखि बन्द भएको आफुले जानकारी पाएको र मालसामान लिन गएका कुनै पनि मालवाहक सवारी साधन फर्किएका छैनन् ।

तीन दिनअगाडि भन्सार हातामा प्रवेश गरेका मालवाहक सवारी साधनको सामान मात्र परीक्षण गरी काठमाडौँतर्फ पठाउन छोडपुर्जी दिने काम भने अगाडि बढेको भन्सारले जनाएको छ । रसुवागढीनाकाबाट करीब ३०० मालवाहक सवारी साधन मितेरीपुलबाट केरूङतर्फ गएको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिए ।

केरूङको बजारमा एक फिटभन्दा अग्लो हिमपात भएको र कोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको मालसामान लिन गएका सवारी चालकले जानकारी पठाएका छन् । रसुवागढीबाट २३ किलोमिटर पर केरूङ बजारको र अधिकांश सडकमा मोटरका टायर गुडाउन सक्ने अवस्था नरहेको सवारी चालकले बताएका छन् ।